Wednesday, September 30, 2015

नेपाल र भारतबीचको सम्बन्धमा असर नपरोस्ः सञ्चारमन्त्री

काठमाडौँ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. मीनेन्द्र रिजालले नेपाल र भारतबीचको सम्बन्धमा थप नकारात्मक असर नपरोस् भन्ने हेतुले नेपालका केवल प्रसारण संस्थासँग पत्राचार गरिएको बताएका छन् ।

 मन्त्री रिजालले नेपालका केवल प्रसारण संस्थाले मङ्गलबारबाट भारतका सबै टेलिभिजन च्यानल बन्द गर्ने निर्णय गरेको सम्बन्धमा आफ्नो मन्त्रालयले केवल सञ्चालकलाई बोलाएर सो पत्राचार गरेको उनले बताए । एउटा सानो जमातको कारण नेपालमा सुरु भएको भारतीय च्यानलको प्रसारण रोक कसैको हितमा नभएको बताउँदै भारतीय च्यानल पुनः प्रसारण गर्न अनुरोधसहित २४ घन्टाभित्र जवाफ दिनुस् भनेर मन्त्रालयले पत्र पठाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री डा रिजालले बताए ।

 सोही विषयलाई लिएर सामाजिक सञ्जालमा भएको विरोध र आक्रोशबारे सोधिएको एक प्रश्नमा उनले आफूप्रति आक्रोश र निरासा देखाउने सबै नागरिकप्रति आफ्नो मन कतिपनि नदुखेको उल्लेख गरे । सञ्चारमन्त्रीले भने – “मैले जीवनमा यति धेरै सामाजिक सञ्जालमा विरोध, आक्रोश खेप्नुपर्‍यो, मलाई फोन र एसएमएस पठाएर सोध्नुभएको छ, किन यसो गर्नुभयो भनेर ।

उहाँहरुले मलाई देखाएको आक्रोशले मभित्र रहेको यो मुलुकको स्वाधीनता र स्वतन्त्रता अझ बलियो भएर जानेछ, नेपाली जनताले कहिले पनि सम्झौता गर्दैनन् भन्नेमा म बढी विश्वास गर्छु, तर भावावेसले मुलुक अगाडि जाँदैन । उनले “हामीले आपूर्ति व्यवस्था सहज गर्नुपर्छ, भारतसँगको सम्बन्धलाई अझ गहिरो बनाउनुपर्छ, दुई देशबीचको सम्बन्ध सुधारका लागि कूटनीतिक प्रयास गरिनुपर्छ ।” भने ।

0 comments:

Post a Comment